साफ च्याम्पियनसिपको फाइनलमा नेपालीलाई झड्काः प्रशिक्षक अल्मुताइरीमाथि प्रतिबन्ध

353

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औँ संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

तर, यसअघि नै नेपाली मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो ।

श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेँलो कार्ड पाएका उनलाई शनिबार हुन लागेको भारतविरुद्धको फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । तर, उनीमाथि लगाइएको प्रतिबन्ध साफकै नियमावलीविपरीत गरेको भन्दै आलोचना भइरहेको छ ।

साफको नियमावलीअनु्सार रातो कार्ड पाएमा मात्र अर्को खेल गुमाउने छ । तर, उनले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा पहेँलो कार्ड पाएका थिए ।

अल्मुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । तर, साफको उक्त निर्णयप्रति मुख्य प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाएका छन् ।

शनिबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले आफूमाथि प्रतिबन्ध लगाउने निर्णय साफ च्याम्पियनसिपको उपाधि भारतले जितोस् भन्ने उद्देश्यले अभिप्रेरित रहेको आरोप लगाए । व्यक्तिगत रिसइबी साँध्ने गरी ममाथि नभएर नेपाली फुटबलमाथि कारबाही गरिएको उनको भनाइ छ ।

नेपाललाई पहिलोपटक साफ च्याम्पियसिपको फाइनलमा पुर्याएका अलमुताईरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा जाने चेतावनी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...