चितवन । संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले संसद छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस नदिएको बताएका छन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार रूपमा संसद अबरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गरेका थिए ।
दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आएका ज्ञवालीले संसद छाडेर जान एमाले सांसद्लाई प्रचण्डले बक्सिस नदिएको बताए । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले भने,“एमालेलाई संसद्मा पुर्याउने काम जनताले गरेका हुन् । जनताको इच्छा बेगर कसैले पनि हटाउने वा दायाँबायाँ गर्ने कुरै भएन ।”
एमालेलाई संसद छाडेर जान भन्नु प्रचण्डको पराजित मानसिकताको उपज मात्रै भएको उनले बताए । ३२ साउनसम्म एमालेले संसद अवरुद्ध नगरेको बताउँदै उनले सभामुखले पदीय दायित्व पूरा नगरेपछि मात्रै संसद अबरुद्ध हुन थालेको बताए । “सदन खोल्ने हो भने सभामुखले आफ्नो गल्तिलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ,” उनले भने ।
वर्तमान गठबन्धनको सरकार देशका लागि बोझ बनेको बताएका छन् । सरकार प्रारम्भदेखि नै गलत बाटोमा हिँडिरहेको उनले बताए । “सरकार गलत बाटोमा हिँडिरहेको छ । त्यसो हुनाले जति दिनसम्म रहन्छ, त्यति दिनसम्म देशका लागि बोझ हुने स्थिति हामी देख्छौँ,” उनले भने ।
देउवा सरकार संविधानको अपव्याख्या अनुसार बनेको भन्दै उनले जनादेशबाट नभएर परमादेशबाट बनेको सरकार गलत बाटोमा हिँडेको उनले आरोप लगाए । “सरकारले प्रारम्भदेखि नै संविधानका आधारभुत संरचना भत्काउने, राष्ट्रिय हितलाई आँच पुर्याउने र जनताको विरोधमा काम गरेको देखिएको छ,” उनले भने ।
सरकारले भूमि सम्बन्धि समस्या समाधामन आयोग विघटन गरेर सुकुम्बासीका सपनालाई नै विघटन गरेको उनले बताए । “अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउने गरी पैसाको स्रोत नखोजिने भन्नुभयो । जसले गर्दा नेपाल कालो सूचीमा पर्ने खतरा छ,” उनले भने, “पार्टी विशेषलाई विभाजन गर्न लोकतन्त्रका विधिका शासनको आधारभूत कुरालाई पनि सरकारले भत्काउने काम गर्यो ।”
रुपन्देहीमा सुकुमबासीमाथि गोली चलाइएको प्रसंगमा बोल्दै उनले समस्याको समाधान गोली नहुने बताए । सुकुमबासीका नाममा हुकुमबासीले जग्गा कब्जा गर्न नपाइने तर सरकारले जनतामाथि गोली चलाएर गलत बाटोमा हिँडेको उनले बताए ।