सुकुमबासी मारिँदा पनि कुन नैतिकताका आधारमा गृहमन्त्री कुर्सीमा बस्नुहुन्छ  : एमाले

269

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले रुपन्देहीको मोतिपुरमा सुकुमबासी मारिएको घटनाको विषयमा सरकारको जबाफ मागेको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक सिमलाल भट्टराईले मोतिपुरमा सुकुमबासी मारिएको घटनाको जबाफ मागेका हुन् । उनले आफ्नै जिल्लामा सुकुमबासी मारिँदा गृहमन्त्री बालकृष्ण खाण मुकदर्शक बनेको समेत आरोप लगाए ।

भट्टराईले भने,“आज अरुका लागि दसैँ आएको छ, सुकुमबासीका लागि दशा आयो । त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ । उहाँले के सोचिरहनुभएको छ ? कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ।”

आइतबार बुटवल उपमहानगपालिकाको मोतिपुर क्षेत्रमा सुकुमबासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए । आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ अधिकारीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...