काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो ।
जीवन राईलाई केन्द्रीय सदस्य बनाएर कलम चिन्ह लिने भएको छ । यसअघि निर्वाचन आयोगमा राईले दर्ता गरेको नेकपा (एकीकृत)ले कलम चिन्ह पाएको थियो ।
एमालेमा रहँदा माधवकुमार नेपाल समूहका युवा नेता राईले पार्टी नेताहरुकै सल्लाहमा गत ३० जेठमा नेकपा (एकीकृत) दर्ता गरी निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका थिए । उनी सो पार्टीको अध्यक्ष हुन् ।
अब एकीकृत समाजवादीमा राईलाई केन्द्रीय सदस्य बनाएर सो पार्टी कानुनी रुपमा गाभ्ने र कलम चिन्ह लिने तयारी रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले गत भदौ ९ मा निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला सो पार्टीको आफ्नो चिन्ह किताब प्रस्ताव गरेर सोही आधारमा आयोगले मान्यता दिएको थियो ।