काठमाडौँ । नेकपा (एमाले)को लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्य चिन्हभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।
परिवर्तित एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा हो । आफूहरुको चुनाव चिन्हसँग मिल्दोजुल्दो गरी लोगो बनाएको भन्दै कानुनी उपचारमा जाने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।
“एमालेले पार्टीको लोगो हाम्रो पार्टीको चुनाव चिन्हसँग मिल्ने खालको छ । यो कानुनविपरीत काम हो,” उनले भने,“निर्वाचन कानुनविपरीत हुने जुनसुकै कामको पनि स्वभाविक रुपमा विरोध हुन्छ । यो एमालेले कानुनविपरीत काम गरेको छ ।”
एमाले भने हँसिया हथौडा सबै कम्युनिस्टको साझा चिन्ह भएकाले त्यसका कानुनी दाबी नलाग्ने बताएको छ ।
“पहिलो कुरा हँसिया हथौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन । दोस्रो कुरा हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरुको साझा झन्डा हो,” एमाले उपमहासचिव विष्णु पौडेलले भने,“हाम्रो पनि त्यहीँ हो । त्यसैले उहाँहरुको दाबी मिल्दैन ।”
एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अंग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो ।