काठमाडौँ । सत्ता गठबन्धनले आजै मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ । नेकपा (माओवादी केन्द्र)ले मन्त्री छानिसकेको छ भने भने जनता समाजवादी पार्टी (जसपा)का नेता बिहानदेखि मन्त्रीको सूची तयार पार्न जुटेका छन् ।
माओवादी केन्द्रले छानेका ३ मन्त्री र एकजना राज्यमन्त्रीको आजै शपथ हुने स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार समय भने यकिन भइसकेको छैन । “समय त कुन बेला भन्ने भएको छैन । आजै शपथ लिने तयारी छ,” उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल‘प्रचण्ड’ले पनि आजै मन्त्रिपरिषद् विस्तार हुने तयारी रहेको बताएका छन् । पञ्चली टिभीको उद्घाटन कार्यक्रममा प्रचण्डले उस्तै परे आजै शपथ हुने बताएका हुन् । “भर्खरै क्याबिनेट अब हामी उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ,” प्रचण्डले भने ।
जसपाका शीर्ष नेताहरु पनि छलफलमा जुटेका छन् । बुधबार मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेपनि साँझ अबेरसम्म मन्त्रीको सूची तयार पार्न सकेन । जसपामा मन्त्री हुने नेताहरु धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्ने अधिकार शीर्ष नेताहरुलाई दिइएको छ । त्यसैले बिहानै अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायत नेताहरु छलफलमा जुटेका छन् ।
यता नेकपा (एकीकृत समाजवादी) पार्टीले आफूले थोरै मात्रै मन्त्रालय पाएको भन्दै असन्तुष्टि जनाएपछि गठबन्धनका नेताहरुले फेरि एकपटक मन्त्रालयका बारेमा आजै छलफल गर्ने भएका छन् । एकीकृतका नेताहरुलाई समेत समेटेर आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसभित्र पनि मन्त्री हुने नेताहरुका बारेमा छलफल हुँदै आए पनि टुंगो लागिसकेको छैन । बुधबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सहमति नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बीचमै बहिस्कार गरेको थियो । बैठकमा पौडेल समूहले ३ जना मन्त्री मागेका थिए । तर, देउवाले ३ मन्त्री दिन नसक्ने बताएका थिए । सहमतिका लागि कांग्रेस नेताहरुबीच आज पनि छलफलको तयारी छ ।
हालसम्म मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना मन्त्री छन् भने एक राज्यमन्त्री छन् । गठबन्धनले लगाएको भागबन्डाअनुसार कांग्रेसले ७, माओवादीले ६, एकीकृत समाजवादी र जसपालाई ४/४ मन्त्रालय भाग परेको छ ।