देउवा र पौडेललाई प्रकाशमान सिंहको प्रश्न : गणेशमानको परिवारले सधैँ त्याग मात्र गर्नुपर्ने ?

152

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्व कमजोर भएकै कारण कम्युनिस्टहरुको मनोबल बढेको बताएका छन् ।

काठमाडौँ महानगरमा निर्वाचित पदाधिकारीहरुको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिंहले १३औँ महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको बताए ।

उनले भने,“१३औँ महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरुप कम्युनिस्टको मनोबल बढ्दै गएको छ । १४औँ महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।”

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरु गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे केही समयभित्र कांग्रेस कहाँ छ ? भनेर खोज्नुपर्ने जिकिर गरे ।

पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरे । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भने,“म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो । गणेशमानको परिवारले सधैँ त्यागमात्र गर्नुपर्ने ?”

१३औँ महाधिवेशनमा आफूले वरिष्ठ नेता पौडेललाई सभापतिमा छोडिदिएको जिकिर गर्दै उनले यसपटक कुनै हालतमा पछ नहट्ने उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...