काठमाडौँ । रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते दुई जनालाई हेलिकोप्टरबाट सुर्खेत लगिएको छ ।
आठबिसकोट नगरपालिका–३ स्यालाखदीका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६३ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सुर्खेतबाट हेलिकोप्टर झिकाएर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपिल जंग शाहीले बताए ।
तलिगाउँ र माथिगाउँबीच पुरानो राजनीतिक रिसिबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथिगाउँका नेकपा (माओवादी केन्द्र) समर्थिन रहेका छन् ।