बुद्ध एयरका यात्रु भन्छन् : ‘विमानमा रुवाबासी चल्यो, कति आत्तिएर बेहोस भए’

246

काठमाडौँ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेर पुनः काठमाडौँ नै फर्किएको बुद्ध एयरको जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ । विमान सकुशल अवतरण भएसँगै ठुलो दुर्घटना टरेको छ ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज अवतरण हुन सकेको थिएन । त्यसपछि उक्त ७३ यात्रु सवार जहाज पुन काठमाडौँ फर्किएको थियो । काठमाडौँ फर्किँदासम्म पनि विमानको समस्यामा सुधार नआएपछि विमान काठमाडौँकै आकाशमा घुमिरह्यो ।

सोमबार बिहान ८ः३३ मिनेटमा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको (९एन–एएनआइ) कल साइन रहेको जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौँ फर्किएको थियो ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतकाअनुसार विमानको एउटा पाङ्ग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय ‘झन्डै २ घन्टा’ आकाशमै होल्ड हुन परेको थियो ।

काठमाडौँको आकाशमा झन्डै १० फन्को लगाएर जहाज विमानस्थलमा १०ः२० बजे सुरक्षित रुपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । यसरी बुद्ध एयरको जहाज आज ठुलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ ।

यात्रुको अनुभव
बुद्ध एयर आज अवतरण हुन नसकेपटि विमान आकाशमै हुँदा यात्रुहरुको रुवाबासी चलेको एक यात्रु अनमोल प्रधान बताउँछन् ।

उनी भन्छन्,“विमान अवतरण अब होल अब होला भन्दाभन्दै विमान अवतरण हुन सकेन । विमानमा यात्रुहरु रुन र कराउन थालेका थिए । जसका कारण नडराएका मानिसहरु पनि आत्तिन थाले । केही मानिस बेहोस भएका थिए ।”

उनी रुँदै भन्छन्,“हामीले हाम्रो ज्यान जोगिन्छ भनेर आशा मारिसकेका थियौँ । विमान अवतरण हुनेबेला त्यहाँ तल दमकल, आम्र्री, प्रहरी तयारी अवस्थामा देख्दा ज्यान जान्छ भन्ने सोचेका थियौँ । हामीलाई भगवानले मात्र बचाएको जस्तो लाग्छ । भगवान पशुपति नाथको कृपाले बाँच्यौँ । हामी सबै हात जोडेर भगवान सम्झिँदै बसिरहेका थियौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...