काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले नेपालको राजनीतिमा एमाले अग्लो रूख भएको बताएका छन् ।
आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत् केन्द्रीय भेलालाई सम्बोधन गर्दै विष्टले भने, “नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुख जस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर, निरन्तर अडिग हुन्छ ।”
विष्टले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बताए । “एमाले प्रकाशको ताप हो । एक्लै काफी छ । लड्ने सामर्थ्य राख्छ । विजय प्राप्त गर्दछ । एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,” उनले भने ।
विष्टले कम्युनिस्ट आन्दोलनमा कहीँ नभएको जात्रा हाँडी गाउँमा देखिएको पनि उल्लेख गरे । विष्टले सर्वोच्च अदालतको फैसलाबाट एकता भंग भएपछि माधवकुमार नेपालसँग गएको र १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए ।
माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरी दल विभाजन गरेको विष्टको आरोप थियो ।
“देङ स्याओ पिङले पार्टीभित्र फरक विचार राख्दा जेल जीवन भोगेका थिए । तर, माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले आधुनिकता पायो । कहिलेकाहीँ विभाजनभन्दा धैर्यता बलियो हुन्छ । तर, यो मर्मलाई माधव नेपालले बुझ्ना चाहनुभएन,” विष्टले भने ।
मार्क्स र माओको जीवनमा समेत अल्पमतमा परेको भन्दै अल्पमतमा परे भन्दैमा विभाजनतर्फ जानु उचित नभएको उनको भनाइ छ । “विधिको वकलत गर्ने माधव नेपालले १० बुँदे मान्नुपर्थ्यो । तर, १३ जना स्थायी कमिटीको बैठक राखेनन् । १० जना त एकतामा जान वकालत गरिरहेको बेला कुनै छलफल नगरी विभाजन जानुले उहाँको मुखौटो उदाङ्गो भएको छ,” उनले भने ।