काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ ।
केही समूहमा भने छलफल जारी रहेको छ । एमालेका १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा समूह विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइएको हो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ जसमा सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, विभागीय प्रदेश र विशेष प्रदेश समूह रहेका छन् ।
समूहगत छलफलका निष्कर्ष एकजना टोली नेताले बैठकमा सुनाउनेछन् । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत् विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहको निष्कर्ष सुनाउनेछन् ।
यस्तै, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गिय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले निष्कर्ष सुनाउनेछन् ।
समूहगत निष्कर्ष र सुझावका आधारमा केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्ने छ । समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेलले जबाफ दिनेछन् ।