७५ वर्षे इतिहासमा पार्टी कब्जा गर्ने यस्तो कार्य कहिल्यै भएको थिएन : शेखर कोइराला

80

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति पक्षले पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । प्रदेश नम्बर २ का मन्त्रीले वडाध्यक्षमाथि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमै हातपात गरेको भन्दै विरोधका लागि बिहीबार सानेपा पुगेका नेता कोइरालाले संस्थापन पक्षले जस्तासुकै हर्कत गर्न पनि अप्ठेरो मान्न छोडेको आरोप लगाए ।

“प्रदेश २ का आठ जिल्लामा क्रियाशील सदस्यता पुग्न सकेको छैन । सर्लाहीका लागि हरेक दिन क्रियाशीलको विषयमा बिहान, दिउँसो, बेलुका अर्कै निर्णय भइरहेका छन्,” कोइरालाले भने,“पार्टी कब्जा गर्ने नाममा गुण्डागर्दी भएको छ, यो मान्य छैन ।”

सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा प्रहरी लगाएर वडा अधिवेशन कब्जा गरिएको र अब गुण्डागर्दी सुरु गरेको उनको भनाइ छ ।

“आफ्नै जिल्ला डडेलधुरामा पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरियो, कांग्रेसको ७५ वर्षे इतिहासमा कहिल्यै यस्तो भएको थिएन,” कोइरालाले भने,“सलाहीका विषयमा भएको घटना कहिल्यै स्वीकार्य हुन्न ।”

केन्द्रीय कार्यालयमा धर्नामा बसेका जिल्लाका नेताहरुको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्न पुगेका कोइरालाले भने,“पार्टी कब्जा गर्ने कार्य स्वीकार्य हुँदैन । गुण्डागर्दी गर्ने यस्ता तत्व जिल्ला जिल्लामा परास्त हुन्छन् ।”

आन्दोलनरत कार्यकर्ताप्रति उनले समर्थन रहेको बताए । क्रियाशील सदस्यता विवादले रौतहटका जिल्ला कार्यकर्ता धर्नामा बसिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...