काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाललाई बनाउने भएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले जानकारी दिए ।
“सचिवालय बैठकले महासचिवमा डा.भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अब बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ,” ती नेताले भने ।
महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि दाबी गरेका थिए । सचिवालय बैठकमा भुसाललाई नै महासचिव बनाउने सहमति जुटेको हो ।
मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठकले महासचिव चयन गर्ने, स्थाथी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्ने एक नेताले बताए ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ अध्यक्ष, १ वरिष्ठ नेता, ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव गरी १७ जना पदाधिकारीसहित ११५ जना पूर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।