माधव नेपालको राजनीतिक प्रतिवेदन पारित : एकीकृत समाजवादी ‘जबज’का विचारसँगै अघि बढ्ने

342

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)का सारभूत विचारहरुलाई अवलम्बन गरेर समाजवाद र समृद्धिको यात्रामा जाने आफूहरुको अठोट रहेको बताएका छन् ।

नयाँ बानेश्वरमा बुधबार दोस्रो दिन बसेको नेकपा (एस) पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले जबजका सारभूत विचारहरुलाई अवलम्बन गरेर समाजवाद र समृद्धिको यात्रामा जाने आफूहरुको अठोट रहेको बताएका हुन् ।

“जबजका सारभूत विचारहरुलाई पक्रिँदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ,” बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै भने,“यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो ।”

जबज पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा देखा परेको सिर्जनात्मक अध्याय भएको जिकिर गर्दै नेपालले बैठकमा जबजलाई थप विकसित गर्दै लगिने धारण राखेको पनि उनले बताए ।

“आजभन्दा अगाडि नेकपा )एमाले)ले जबजलाई कुरुप गर्दै गएको थियो । यसलाई विद्रुप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने, जनताको बहुदलीय जनवादलाई वेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो,” खतिवडाले भने,“या त यसलाई यति विकृत बनाइएको थियो कि जबजको आर्दश भनेकै आजका व्यवहारहरु नै यदि जबजक आर्दश हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्याउन लागिएका थियो । हामी यसबाट मुक्त हुन चाहन्छौँ ।”

बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको पनि उनले जानकारी दिए ।

मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले १२ पृष्ठको प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमाथि छलफलका लागि ५ वटा समूह बनाइएको थियो । छलफलको नेतृत्व समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेश राईले गरेका थिए ।

आजको बैठकमा समूहका तर्फबाट बुझाएको प्रतिवेदनसँग जबजको विषयमा पनि उठेको थियो । अध्यक्ष नेपालले त्यस सम्बन्धमा पार्टीको धारण प्रष्ट पारेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...