निजामती कर्मचारीलाई ओलीको निर्देशन : सरकारमा जोसुकै होस् देश र जनताको सेवा गर्ने कामबाट पछि नहट्नुस्
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीहरुलाई सरकारमा जोसुकै भएपनि देश र जनताको सेवा गर्ने कामबाट पछि नहट्न निर्देशन दिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने,“म प्रधानमन्त्री हुँदा एउटा ठुलो दलको नेताले कर्मचारीलाई राखेर सरकारलाई असहयोग गर्नुस् भनेर निर्देशन दिएछन् । ती पार्टी कसरी लोकतान्त्रिक हुन सक्छ ?” । उनले कर्मचारीलाई त्यस्तो दुषित विचारबाट दुष्प्रभावित नहुन निर्देशन दिए ।
“देश र जनताको सेवा गर्ने हो । कुन सरकार छ भन्ने होइन । आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्नुस् । सरकारलाई असहयोग गर्ने भन्ने होइन,” उनले भने,“त्यसो हुँदा देश र जनतालाई असर पर्छ । कांग्रेस र माओवादी जस्तो गर्नु हुँदैन । पार्टीको सदस्यता भनेर तपाईंहरुले काम गर्ने होइन ।”
अध्यक्ष ओलीले चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउने बताए । “१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्,” उनले भने,“यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैँ परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।”
आफू प्रधानमन्त्री हुदा घोषणा गरिएको चुनावको विरोध गर्ने वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए ।
“१४ महिनापछि त चुनाव गर्नुपर्छ । चुनाव गराउँदा अनिवार्य रुपमा देश प्रतिगमनमा जाने भयो त ? जनादेश आउँदा चुनाव प्रतिगमन हुने भयो ? संविधान मिचिने भयो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरुले ? चुनाव टाल्ने काम कुनै पनि हिसावले चुनाव नगराएर धर छैन । चुनाव गर्न तिनिहरु बाध्य छन्,” ओलीले भने ।