काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता देउवा सरकारले गरेर गाली भने तत्कालीन ओली सरकारले खाएको बताएका छन् ।
नयाँ किरण समूह टोखाले काठमाडौँको आयोजनामा शनिबार यहाँ सम्पन्न ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण’ अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
एमसीसी गलत भएको भए सरकारले सम्झौता नै गर्न नहुने चर्चा गर्दै नेता ज्ञवालीले भने,“अहिले वर्तामान सरकारसँग १६५ सांसद् छन् । प्रतिपक्षी बिनै उहाँहरुले संसद्बाट पारित गर्न सक्नुहुन्छ ।”
एमसीसी सम्झौता देउवा नेतृत्वको सरकारले गरे पनि गाली ओली नेतृत्वको सरकारले खाएको बताए । “त्यो सरकारको प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, हस्ताक्षर गर्ने त्यो बेलाका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले कानुनमन्त्री हुनुहुन्छ । त्यो सरकारका गृहमन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ । उहाँहरुले गरेको त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔँ भनेकै हो,” उनले भने,“अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडि बढाऔँ भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली ।”
वर्तमान सरकारले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई छाडेर चीनसँगको सीमा समस्या उठाएर विषय मोड्न खोजेको पनि उनले आरोप लगाए ।