सरकारलाई प्रदीप ज्ञवालीको चुनौती : एमालेको सहयोग बिना एमसीसी पास गरेर देखाउ

268

काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले आफूहरुको सहयोग बिना अमेरिकी सहयोज परियोजना  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट पास गर्न चुनौती दिएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्यता विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसद्‌बाट पास गर्न चुनौती दिएका हुन् ।

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्नसमेत गरे । उनले सम्झौता सही थियो भने संसद्‌बाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न गरे ।

एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेका भन्दै उनले अब सरकारले संसद्‌मा प्रस्ताव ल्याएपछि मात्रै आफूहरुको धारण सार्वजनिक गर्ने स्पष्ट पारे । उनले भने,“त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔँ भनेकै हो । किनभने दुई देशबीचको सम्झौता भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त कहिल्यै पनि दुई देशबीचको सम्बन्ध दीगो हुन सक्दैन । सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो । अघिल्लो सरकारले गरेको भए पनि यसलाई अगाडि बढाऔँ भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरु गाली खाने हामी । यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभयो तपाईंहरुले ? यदि सही थियो भने त्यसलाई पास हुनबाट किन रोक्नुभयो तपाईंहरुले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरुसँग संख्या छ, उहाँहरुले अगाडि बढाउने हो भने बढाए हुन्छ । प्रस्ताव आइसकेपछि हामी आफ्नो धारणा राखौँला ।”

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउन नहुने बताए । यसले छिमेकी देशमा विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सीमा समस्या नै नभएको चीनसँग भने सीमा समस्या देखाएर सम्बन्धमा चिसोपना निम्त्याउने काम गरेको बताए ।

नेता ज्ञवालीले दुवै छिमेकी देशसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...