काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकारको नेतृत्वमा आफूहरुको दाबी रहेको बताएका छन् ।
शुक्रबार बिहान एकीकृत समाजवादी पार्टी कार्यालय शुभारम्भ गर्दै अध्यक्ष नेपालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहेको बताएका हुन् ।
“प्रदेश सरकारमा पनि हाम्रो सहभागिता हुने छ । त्यसका लागि हामीले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दाबी गरेर छलफल चलाइरहेका छौँ,” उनले भने ।
प्रदेश १ र बागमती प्रदेशमा जुनसुकै बेला नयाँ सरकार बन्न सक्ने नेपालको भनाइ छ । “बागमती प्रदेशमा पनि सरकार बनाउने तयारी छौँ । प्रदेश १ मा पनि सरकार बनाउने छौँ । आशा गरौँ यो हप्ताभित्र हुन्छ,” नेपालले भने ।
नेकपा एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीका बागमती प्रदेशसभामा १३ जना प्रदेशसभा सदस्य छन् ।
नेकपा (एमाले)का ५६ जना प्रदेशसभा सदस्यमध्ये १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । १३ जना प्रदेश सांसद्हरुले एकीकृत समाजवादी रोजेपछि एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यको वर्तमान सरकार अल्पमतमा परेको छ ।
प्रदेश १ मा एमालेका ५१ सदस्य रहेका थिए जसमध्ये १० जना समाजवादी पार्टीमा लागेका थिए ।