काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज रामबहादुर थापा’बादल’ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे ।
“चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुनस्स्थापित हुने दिशामा अघि बढ्ने छौँ,” उनले भने ।
थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे । “उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौँ,” उनले भने ।