काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा‘बादल’ले एमाले नेपालका श्रमजीवी पार्टी भएको बताएका छन् ।
बिहीबार नेकपा एमाले काठमाडौँ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै बादलले एमाले जनता र श्रमजीवीको पार्टी भएको भन्दै यसमा सबै जनताहरुको अग्रसरता हुने बताए । “नेकपा एमाले, नेपाली सर्वहाराहरुको पार्टी हो, सारथी हो । श्रमजीवीको पार्टी हो,” उनले भने ।
नेता बादलले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन भण्डारी र जीवराज आश्रितको हुनुमा राजनीतिक कारण रहेको बताए ।
“मदन–आश्रितको हत्या ५० सालमा किन भयो ? त्यसको पछाडि राजनीतिक करण छ,” बादलले भने,“मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।” उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे ।
उनले हालै एमालेबाट छुट्टिको माधव नेपाल पक्षलाई ‘दक्षिणपन्थी समूह’को संज्ञा दिँदै एमालेले समाजवादी धारको नेतृत्व गरिरहेकाले आफूहरुको विजय निश्चित भएको बताए ।