हाम्रो क्रान्तिकारी चरित्र विस्तारै स्खलित हुँदै गयो : प्रचण्ड

268

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पार्टीको क्रान्तिकारी चरित्र विस्तारै स्खलित हुँदै गएको बताएका छन् ।

बुधबार पार्टीका तत्कालीन अपाध्यक्ष पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीको उद्देश्यबाट विचलित भएर क्रान्तिकारी चरित्र विस्तारै स्खलित हुँदै गएको बताएका हुन् ।

उनले पार्टीभित्र अहिले व्यक्तिगत पद, प्रतिष्ठा र स्वार्थका निम्ति बढी लगाब नेताहरुमा देखिएको बताए । “हिजो वर्ग, उत्पीडित जाति, समुदायप्रति समर्पित भएर बलिबेदीमा होमिन हामी हिँड्थ्यौँ । अप्ठ्यारो काम मैले गर्न पाउँ भन्ने हुन्थ्यो कार्यकर्ता र नेतामा प्रतिस्पर्धा हुन्थ्यो,” उनले भने, “तर, अहिले त्यस्तो छैन । व्यक्तिगत पद, प्रतिष्ठा र स्वार्थका निम्ति बढी लगाब देखियो ।”

अध्यक्ष प्रचण्डले नेताहरुको ध्यान पार्टी बनाउनेभन्दा पनि पार्टीभित्र गुट बनाउनेतिर गएको बताए । “पार्टी बनाउनेभन्दा पनि गुट बनाउनेतिर नेताहरुको ध्यान गयो । यो प्रवृति विस्तारै विकास हुँदै गएको छ,” उनले भने,“हाम्रो क्रान्तिकारी चरिस्त्र विस्तारै स्खलित हुँदै गएको छ ।”

दिवंगत नेता बोगटीलाई सम्झिँदै प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्किारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

“क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौँको संख्यामा सडकमा आउन तयार छन्,” उनले भने,“जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौँ । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।”

प्रचण्डले अहिलेको गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी र जसपाबीचको गठबन्धन) निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे । गठबन्धन कायमै रहे चुनाव गठबन्धनको दुई तिहाइ आउने उनको भनाइ छ ।

देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रचण्डले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...