काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन् ।
एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई सम्बोधन गर्दै बस्नेतले एमाले फुटाउने मतियार बनेको भन्दै सापकोटाको आलोचना गरे । पूर्वमाओवादी सांसद्हरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहहरुको पदमुक्तिको सूचना २४ घन्टाभित्र टाँस गरेका सभामुख सापकोटाले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाही पटक पटक अध्ययन गर्दैछु भनेर रोकेर भेदभाव गरेको बस्नेतको भनाइ थियो ।
“लेखराज भट्टहरुको २४ घण्टामा सूचना निकाल्नुभयो । माधव नेपालसहित १४ जनाको आजसम्म सूचना निकाल्नुभएन । पटक पटक बुझ्दैछु । अध्यन गर्दैछु । हेर्दैछु भन्नुभयो । सबभन्दा धेरै अध्ययन, अनुसन्धान गर्ने, जाँचबुझ गर्ने मान्छे अग्नि सापकोटा देखिन्छ,” उनले भने, “सभामुख होइन अनुसन्धान विभाग प्रमुख बनाउने स्वभाव देखिन्छ । सापकोटाले आफ्नो छवि ध्वस्त बनाउदैछन् ।”
सभामुखले कार्यव्यवस्था नबसी संसद बोलाएर परम्परा तोडेको बस्नेतको आरोप छ । “जबरजस्ती संसद चलाए । मर्यादापालक वेलमा पठाइयो । संसद अवरोध भएको बेला सदन चल्दैन । वेल घेर्दा पनि सभामुखले अवरोध मान्नुभएन,” उनले भने ।
बस्नेतले दौडिएर रोस्टममा पुगेका अर्थमन्त्री जनार्दन शर्माले पनि षडयन्त्र गरेको आरोप लगाए । “अर्थमन्त्री जनार्दन शर्माको विगत हेर्नुभयो भने सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ब्रिफकेश खोस्ने र सदनमा नौटंकी देखाउने यिनै जनार्दन शर्मा हुन् । यिनै अहिले कुदेर गए । उनको मनको पाप, षड्यन्त्रका कारणले दौडेर गरे,” उनले भने ।
बस्नेतले एमाले कमजोर नरहेको दाबी गरे । “एमाले ज्युँदो बाघ हो । स्याल र ब्वाँसोहरुलाई एक धाप्को हान्यो भने परमधाम भइहाल्छ । त्यसकारण बाघलाई नजिस्क्याउ । बाघे झ्यापु हान्यो भने स्याल र ब्वाँसोहरु सिद्धिन्छ,” उनले भने ।