काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।
सभामुख सापकोटाले सोमबार दिउँसो संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आह्वान गरेको भएपनि एमालेले बहिस्कार गर्ने भएको हो ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सभामुखले बोलाएको भनिएको सर्वदलीय बैठकमा पार्टीको सहभागिता नहुने जानकारी दिए । “सत्तापक्ष र प्रतिपक्षबीचको बैठक छलफल भएमा हामी भाग लिन्छौँ,” उनले भने,“तर, सभामुखले बोलाएको सर्वदलीय भनिएको बैठकमा सहभागिता हुँदैन ।”
एमालेले कारबाही गरेका सांसद्हरुले सनाखत गरेर गठन भएको दलसमेत भाग लिने बैठकमा आफूहरुको सहभागिता नरहने एमालेले प्रष्ट पारेको हो ।
उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफल भए वा बोलाएमा भने एमालेले सहभागिता जनाउने बताए ।
एमालेले लगातार संसद् बैठक अवरुद्ध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।