काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि सभामुख र सत्तारुढ दलहरुले पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले एमाले शान्त भएपछि सबै चिज ठिक हुने बताए ।
“जसपाको हकमा, नेकपा (माओवादी केन्द्र)को हकमा सांसद्हरुलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो । तर, हाम्रो हकमा किन भएन ? प्रश्न यो हो,” उनले भने,“हामी (एमाले)लाई शान्त गर्नासाथ सबै चिज ठिकठाक हुन्छ ।”
उपनेता नेम्वाङले एमालेले १४ जना सांसद्लाई कारबाही गरेर पठाएको पत्रअनुसार सभामुखले सूचना टाँस गरेपछि शान्त हुने बताए । “हामीले जुन उजुरी दिएका छौँ त्यो उजुरीअनुसार उहाँ (सभामुख)ले सूचना टाँसिदिए हुन्छ । त्यो सूचना टासेपछि एउटा आधार बन्छ कि भन्ने लाग्छ,” उनले भने ।
पार्टी विभाजन नहुँदै भदौ १ गते नेकपा एमालेले १४ सांसद्लाई निष्कासनको कारबाही गरेको संसद् सचिवालयमा दिएको थियो । उक्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएर पार्टी फुटाउन सहयोगीको भूमिका खेलेको एमालेको आरोप छ ।