एमालेको विधान महाधिवेशन सर्‍यो

246

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान महाधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसअघि अधिवेशन असोज ४ देखि ६ गतेभित्र अयोजना गर्ने निर्णय भएको थियो ।

दस्तावेज तयारीका निम्ति पर्याप्त समय नभएकाले विधान अधिवेशनको मिति सारिएको जानकारी दिँदै त्यससम्बन्धमा थप छलफल गर्न स्थायी कमिटी बैठक असोज ३ र ४ गते बोलाइएको उनले बताए । अबको स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ भने स्थायी कमिटीको बैठकबाट उक्त प्रस्ताव पारित भएपछि असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए ।

बैठकले अधिवेशनका लागि ३ हजार प्रतिनिधि हुने निर्णय गरेको छ । अघिल्लो अधिवेशनमा प्रतिनिधि परिषद् सदस्य महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए तर यसपटक पार्टीको नवौँ महाधिवेशनपछि परिषद् निर्वाचित नगरेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि बाधा अड्काउ फुकाउको व्यवस्था गरिएको उनले जाकारी दिए ।

त्यस्तै बैठकले सरकारले बलमिच्याइँ गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको बैठकको ठहर रहेको भट्टराईले बताए ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडकलगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना राखिएको भन्दै बिमति रहेको उनले जानकारी दिए । बैठकले संसदीय मूल्यमान्यताका आधारमा सभामुखको भूमिकाकोविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन निर्देशन दिएको भट्टराईले बतए ।

Share This:
सम्बन्धित खबर
Loading...