पपुवा न्युगिनीमाथि नेपालको कीर्तिमानी जित

106
  • भाइरस

काठमाडौँ । पपुवा न्युगिनीविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले कीर्तिमानी १५१ रनको जित हासिल गरेको छ ।

२३४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीलाई १९.१ ओभरमा ८२ रनमा समेट्दै नेपालले सर्वाधिक ठुलो जित हात पारेको हो । यसअघि नेपालको एकदिवसीय क्रिकेटमा सर्वाधिक ठुलो जित युएइविरुद्ध २०१९ मा १४५ रनको रहेको थियो ।

नेपालको जितमा लेग स्पिनिर सन्दीप लामिछानेले करियरकै उत्कृष्ट बलिङ गरे । ५.१ ओभर बलिङ गरेका सन्दीपले ११ रन दिएर ६ विकेट लिए । यस्तै, सुशान भारी, विक्रम सोब र सोमपाल कामीले समान एक–एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङको मद्धतमा ४ बल बाँकी रहँदा सबै अलआउट हुँदै २३३ रन बनाएको थियो ।

पौडेलले सर्वाधिक ८६ रनको योगदान दिए । १२३ बलको सामना गरेका पौडेलले ३ छक्का र २ चौकाको मद्धतमा ८६ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५, करण केसीले ४२, बिनोद भण्डारीले १७ र सोमपाल कामीले ११ रनको पारी खेले ।

नेपालले अतिरिक्त २४ रन पाएको थियो । पपुवा न्युगिनीका काबुआ मोरेयाले २ विकेट लिए ।

जितसँगै नेपालले दुई खेलको एकदिवसीय सिरिज २–० ले क्लिन स्विप गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...