काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ ।
उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन् । उनीहरु बिहीबार कतारबाट काठमाडौँ आएका हुन् ।
नेपालमा एमसीसी संसद्मा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।
त्योभन्दा अगाडि उनले विपक्षी दलका नेता एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यतालिका रहेको छ । साथै उनले अन्य दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यतालिका रहेको स्रोतले जानकारी दियो ।
सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।