गभर्नरलाई अर्थमन्त्री शर्माको निर्देशन : सेयर बजारका समस्या समाधान गर्नु

317

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।

राष्ट्र बैंकको मौद्रिन नीतिमार्फत सेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झन्डै २०० अंकले घटेको छ । हिजो मात्रै १०८ अंकले घटेको थियो ।

पुँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई सोमबार फोन गरेका थिए । फोनवार्ताका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समाधान गर्न गभर्नरलाई भनेका हुन् ।

जबाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

हालैको मौद्रिक नीतिले सेयर लगानीका लागि सेयर धितो राखेर एक व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।

त्यस्तै, सेयरमै लगानीका लागि एउटा बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्तिले ४ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरिएको थियो । यही व्यवस्थाका कारण सेयर बजारमा असर परेको लगानीकर्ताको गुनासो छ ।

Share This:
सम्बन्धित खबर
Loading...