काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको हितमा नरहेको बताएका छन् ।
रिपोर्टर्स कल्ब नेपालले आयोजना गरेका साक्षात्कारमा उनले एमसीसी सम्झौतालाई संसद्मा पेस गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गरे । नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसद्मा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौँ भनेर हेरिरहेको उनले बताए । रावलले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि जिकिर गरे ।
उनले भने,“यो सम्झौता असमान छ । प्रावधानले नेपालको आत्मनिर्णयको अधिकारमा आँच पुर्याउँछ । अनुदान भनेपछि यो अमेरिकी योजना हो भन्ने कुरा प्रष्ट छ । ३८.५ प्रतिशत रकम कहाँ खर्च हुन्छ भनेर विस्तृत रुपमा भनिएको छैन ।”
एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि रहने भनिएकोमा पनि उनले आपत्ति जनाए । “अमेरिकाको अहिलेको कानुन नेपालको भन्दा माथि हुने भनिएको छ । त्यो मात्रै होइन भोलि पनि माथि नै हुने भनिएको छ । यस्तो दफा राख्ने नेपाल राज्यको कर्मचारी होइनन्, तिनीहरु विदेशका दलाल हुन्,” उनले भने ।
एमसीसीको विरुद्धमा बोल्न पाउँदैन भनेर सूचना जारी गर्ने गृह मन्त्रालयका कर्मचारीलाई दण्डित गर्न रावलले माग गरे । उनले एमसीसी सम्झौता संशोधन नगरी संसद्बाट पारित गरिए त्यो राष्ट्रघाती हुने पनि बताए । उनले एमसीसी संशोधन नगरी पारित गर्नेहरु राष्ट्रघाती हुने पनि उनको भनाइ छ ।
उनले दार्चुला महाकाली घटनादेखि नेपाल भारत सीमा समस्या रहेका बेला सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको भन्दै आपत्ति जनाए ।
रावलले नेकपा (एमाले) को पार्टी एकताका लागि आफूहरुले गम्भीर पहल गरेको पनि स्मरण गराए । उनले एमालेलाई बलियो बनाउन १० बुदे सहमतिको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।