काठमाडौँ । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि पुनः सरकारमा फर्किने बताएका छन् ।
शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले लगनेखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।
“हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ । अबको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनका लागि तयार गर्नुछ । ठीक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि फर्कने छौँ, हामी सरकारमा,” ज्ञवालीले भने,“परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौँ र देशलाई ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय अभियानमा अघि बढाउनेछौँ ।”
फरक प्रशंगमा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर विदेशी इशारामा काम गरेको आरोप लगाए । उनले दार्चुलामा तुइन काटेर नेपाली बेपत्ता भएको घटनादेखि लिपुलेक कालापानीका विषयमा सरकार मौन बसेको पनि आरोप लगाए ।