काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज अभियान’ का १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महराजगञ्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।
पक्राउ परेका सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खाजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् ।
अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दै छ । तर सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भएको हो ।