कार्यकर्तालाई सभापति देउवाको भिडियो सन्देश : जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु

317

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सक्रियरुपमा सहभागि हुन सबै कार्यकर्ता तथा शुभेच्छुकमा आग्रह गरेका छन् । पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिँदै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको देउवाको भनाइ छ । “नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु,” देउवाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै अवस्थामा महाधिवेशन गर्नुपर्ने बाध्यता आएको बताउँदै उनले सामाजिक दुरी कायम गरी सहभागी हुन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

महाधिवेशनमा ८ लाखभन्दा बढी क्रियाशील सदस्य सहभागी हुनुलाई उनले पार्टीको सफलता भनेका छन् । लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुनसमेत उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने,“आज म निकै खुसी छु । ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ती सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु ।”

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि काँग्रेसकै काँधमा आएको उनले बताए ।

उनले भने,“म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देशमार्फत गर्न चाहन्छु । हरेक गाउँको मुद्दामा आफूलाई गाँस्दै, हरेक टोलको भावनाले नेतृत्व गरी बलियो बनाउन काँग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुने छ भन्ने विश्वास मैले लिएको छु,” देउवाले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...