काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत कार्यकर्ताहरुलाई सही निर्णय लिन आह्वान गरेका छन् ।
पौडेलले बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दवाव र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले ढिलै भएपनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतान्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक भएको बताएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भदौ १८ देखि वडा अधिवेशन सुरु हुँदै छ ।
नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनमा वडा तहबाटै सबल नेतृत्वको आवश्यकता औँल्याए । “ढिलै भएपनि १८ गतेदेखि वडा अधिवेशन सुरु हुँदै छ । नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्ने छ,” पौडेलले भिडियो सन्देशमार्फत भनेका छन्,“हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।”
उनले कांग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो निजी स्वार्थलाई बिर्सेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपिल गरे । “सम्पूर्ण साथीहरुलाई यो घडीमा अपिल गर्न चाहन्छु कि हामीले सानातिना निजी कुरा बिर्सेर हाम्रो महान् लक्ष्यलाई ध्यानमा राख्दै, हामीले गर्दै आएको कठिन संघर्षलाई कसरी मूर्तरुप दिलाउने ? कसरी लोकतन्त्रलाई संस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने ?,” पौडेलले भने,“यो कुरामा चिन्तित र गम्भीर हुँदै आफ्नो आत्मको पुकार सुनेर निर्णय गर्न म सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछु ।”