काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिड गन’ सहितको चेकिङ सुरु गरेको छ ।
विशेषगरी कोटेश्वर–सूर्यविनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरी तीव्र गति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ ।
“दैनिक रुपमा दिउँसो हुने चेकिङमा तीव्र गतिमा सवारी चलाउने ३५÷४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौँ । अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ गरी गति नियन्त्रण गर्ने अभियान पहिलोपटक सुरु गरेका छौँ,” महाशाखा प्रमुख एसएसपी जनक भट्टराई भने ।
उनले मंगलबार रातिदेखि नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
स्पिड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पिडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएकोर नाइट स्पिड चेकिङलाई कडाइका साथ लगिने समेत महाशाखाले जनाएको छ ।