काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी सरेको छ । बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । रिट निवेदकमध्येका एक कनकमणि दीक्षितले एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको पेसी सरेको बताए ।
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधापनक इजलासमा करिब १० वर्षदेखि विचाराधीन रहेको छ ।
सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेसी चढेको थियो । उक्त दिन हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो । सापकोटाविरुद्ध २०७२ चैत २६ मा अधिकारकर्मी सुशील प्याकुरेललगायतले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर गरेको रिट र अर्जुन लामाको हत्यासम्बन्धी लामाकी पत्नि पूर्णिमायाले ०६९ मंसिर ७ मा दायर गरेको रिटका साथै ०६८ असार ६ मा सापकोटाले दर्ता गराएको अदालतको अवहेलना सम्बन्धी मुद्दा एउटैमा समेटेर सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढेको हो ।
२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।