काठमाडौं । तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले आफ्नो धारण प्रष्ट पार्न सत्तारुढ गठबन्धनका नेताहरुले आग्रह गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले धामी बेपत्ता प्रकरणमा छानबिनका लागि गठित छानबिन प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन छिमेकी मुलुक भारतसँग कुरा गर्नुपर्ने बताएका थिए ।
मन्त्रिपरिषद् विस्तार तथा मन्त्रालय भागबन्डाबारे छलफल गर्न बसेको बैठकमा जनतासमाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा (माओवादी पार्टी)का नेता नारायणकाजी श्रेष्ठले उक्त घटनामा सरकारले आफ्नो अडान वा धारणा स्पष्ट पार्नुपर्ने बताए । घटनाको छानबिन गर्न सरकारले बनाएको समितिको प्रतिवेदन तत्कालै बाहिर ल्याएर सोही आधारमा भारतसँग वार्ता गर्न उनीहरुको आग्रह थियो ।
गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको तरा काटिदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
उक्त घटनाबारे सरकारले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेपनि अहिलेसम्म प्रतिवेदन तयार गर्न सकेको छैन । प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइले सरकारले उक्त घटनाप्रति बेवास्ता गरेको हो कि भन्ने आशंक पैदा भएको छ ।