माधव नेपालसहित १४ सांसद्लाई कारबाही गर्न नपर्ने सभामुखको निर्णय

381

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माधवकुमार नेपालसहित एमालेले निष्कासन गरेको १४ जना सांसद्लाई कारबाही गर्न नपर्ने निर्णय सुनाएका छन् ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भइ १४ जना सांसद्हरु आबद्ध भएकाले कारबाही गर्न नपर्ने निर्णय सभामुख सापकोटाले गरेको जानकारी दिए ।

नयाँ दल खोल्ने तयारीमा लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले १ भदौमा वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल मर्हजन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद् पदबाट पदमुक्त गर्न सिफारिस गर्दै पार्टीबाट निष्कासन गरेका थिए ।

दल दर्ता हुनुअघि एमालेले कारबाही गरेका सांसद्को पदरिक्तको सूचना टाँस गर्न सभामुख सापकोटासमक्ष माग गरेको थियो । तर, कारबाही सिफारिस गरेको १५ दिनसम्म निर्णय लिनुपर्ने प्रावधानअन्तर्गत सभामुख सापकोटा विचराधिन अवस्थामा रहे । पार्टी दर्तापछि उनले सिफारिसको १३औँ दिनमा कारबाही गर्न नपर्ने निर्णय गरे ।

सभामुख सापकोटाले निर्वाचन आयोगमा दल दर्ता भएको र उक्त दलमा १४ सांसद् वैधानिक रुपमै समावेश भएको भन्दै कारबाही अस्वीकार गरेका हुन् ।

एमालेले कारबाही सिफारिस गरेका सांसद् संलग्न भएर नेकपा (एकीकृत समाजवादी) नामक पार्टी दर्ता भएको पत्र ११ भदौमा आयोगबाट प्राप्त भएको उल्लेख गर्दै संसद् सचिवालयले राजनीतिक दलसम्बन्धी ऐनअन्तर्गत कारबाही गरिरहनु नपर्ने जनाएको हो ।

एमालेको साउन २५ को केन्द्रीय समिति बैठकले गत २७ वैशाखमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले विश्वासको मत लिँदा अनुपस्थित भएर ह्विप उल्लङ्घन गरेको भन्दै १४ सांसद्लाई पार्टी र संसद् सदस्यबाट हटाउने निर्णय गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...