काठमाडौं । नेकपा एमालेले आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि पार्टीले २०७९ वैशाख मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । उनका अनुसार ४ देखि ६ असोजमा विधान अधिवेशन गर्ने निर्णय भएको छ । विधान अधिवेशनको तयारीका लागि भदौ १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उनले जानकारी दिए ।
यस्तै, भदौमा जिल्ला कार्यकर्ता भेला गर्ने निर्णय गरेको सो बैठकले गत २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्ड र लेखराज भट्ट सहभागी कार्यादल गठन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बैठकले पार्टीका केन्द्रीय, जिल्ला, स्थानीय तहका सबै पार्टी कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
यस्तै, बैठकले पार्टी सदस्यता नविकरण गर्ने असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । बैठक भोलि पनि बस्ने भएको छ ।