काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै सल्लाहमा अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् ।
मंगलबार चन्द्रगिरि हिल्समा पत्रकार सम्मेलनमा बोल्दै उनले शाक्यले मुख्यमन्त्री बन्दै गर्दा आफ्नो चाहनाबाट नै मुख्यमन्त्री बनेको बताएका हुन् । “उहाँ सल्लाहले नै हुनुभएको हो । मेरो सहमति लिनु भएकै हो । तर, उहाँ पनि अहिले अप्ठ्यारोमा हुनुहुन्छ । पार्टी बनेपछि नयाँ पार्टी रोज्नुपर्छ । म त्यसमा धेरै भन्न चाहन्न,” नेपालले भने ।
उनले २१ दिनमा दल रोज्न पाउने भएकाले त्यसपछि मात्रै सरकार बन्ने बताए । नेता नेपालले गत भदौ २ गते नयाँ दलको निवेदन दिएकै दिन अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् ।
त्यसअघि शाक्य नेपाल पक्ष्ँमा थिइन् । तर, मुख्यमन्त्री बनेसँगै उनले केपी ओली पक्षमा पुगेकी थिइन् ।