काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल एमालेमै फर्किए कारबाही फिर्ता हुने बताएका छन् ।
पार्टी विभाजनका बेला माधव नेपाललाई साथ नदिएका नेताहरुसँगको छलफलमा ओलीले सो कुरा बताएका हुन् । उनले पार्टी एकताका लागि आफू हँदैसम्मको लचकता अपनाएको र अब पनि अपनाउने बताए ।
एमालेमै फर्किए माधव नेपालले गरेको गल्तीलाई माफ गर्न सकिने अध्यक्ष ओलीले बताएको नेता योगेश भट्टराईले जानकारी दिए । “पार्टी दर्ता प्रक्रियाबाट अलग भए माधवहरुमाथि गरिएको कारबाही फिर्ता हुने कुरा अध्यक्षले बताउनुभएको छ,” छलफलपछि उनले भने ।
छलफलमा अध्यक्ष ओलीले १० बुँदै सहमति कार्यान्वयन गर्दै अगाडि बढ्न तयार रहेको बताइको पनि उनले जानकारी दिए ।
“अध्यक्षले अत्यन्तै सकरात्मक धारणा राख्नुभएको छ । पार्टीलाई एकताबद्ध गर्न जिम्मेवार छु भन्ने प्रतिबद्धता जनाउनुभएको छ । पार्टीमा सबैलाई समान व्यवहार गर्ने । पुरानो जिम्मेवारी यथावत राख्ने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक अभिभार पूरा गर्न नेकपा एमालेलाई एकताबद्ध गर्न आफू पूर्णरुपमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ,” भट्टराईले भने ।