काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । समितिले तयार पारेको प्रतिवेदन आज अपरान्ह ५ बजे बुझाउने तयारी छ ।
क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार समितिले अपरान्ह ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
हिजै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको समितिका सदस्यहरुले बताएका छन् ।
हिजै सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाउने बताइए पनि हिजो समितिले बझाएन । आज साँझ ५ बजेसम्म सभापतिलाई प्रतिवेदन बुझाउने बताइएको छ ।
बारा, सप्तरीलगायत ६ जिल्लाका १३ वटा क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताको विवाद समाधान समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवाद १३औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई अधार मान्ने गरी मिलाएको थियो । तर, बारा र सप्तरीलगायत जिल्लामा देखिएको विवाद मिलाउन नेता त्रयलाई जिम्मा दिइएको थियो ।
गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।
कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ ।