काठमाडौं । नेकपा (एमाले) विभाजनमा संलग्न नरहेको तर माधवकुमार नेपाल समूहमा रहँदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि बालकोट पुगेका छन् ।
एमाले उपाध्य भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण र योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताहरु बालकोट पुगेका छन् । उनीहरुले १० बुँदे सहमति कार्यान्वयनको मोडालिटीबारे छलफल गर्ने कार्यक्रम छ ।
नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसद्हरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए ।
आइतबार दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यान्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको बर्ता भएको बताइएको छ ।
माधव नेपाल छाडेका ५७ जना नेताहरुले अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेता नेपाललाई नयाँ दल दर्ताबाट पछि हट्न सुझाव दिँदै आएका छन् ।
१० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरुसहितको बैठक बस्ने बताइएको छ । १० बुँदे मोडालिटीबारे बालकोटमा छलफल भइरहेको छ ।