काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इञ्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इञ्चार्ज तोकेको हो ।
त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए । “बैठकमा मुख्यतयाः केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेन्डामा छलफल भयो । त्यो छलफलअनुसार विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ, इञ्चार्जहरु तोक्ने काम भएको छ । यसका साथै अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यस पछाडि प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ,” उनले भने ।
साथै बैठकले कोभिड महामारीमा नागरिकलाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हुने विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको उनाले बताए ।