काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गइसकेको भन्दै बाहिर समाचार आएपछि गौतमको सचिवालयले हालसम्म नेकपा एमालेमा नै रहेको प्रष्ट पारेको हो ।
“लामो समयदेखि अध्यक्ष केपी ओली नेतृत्वको कार्यशैलीप्रति मतभेद राख्दै आए पनि नेपाल नेतृत्वको नयाँ दल एमाले एकीकृत समाजवादी पार्टीमा लागेको कुरामा कुनै सत्यता छैन,” गौतमको सचिवालयद्वारा आइतबारी जारी विज्ञप्तिमा भनिएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका छन् ।
लामो समयदेखि एमाले एकताका लागि भन्दै तटस्थ बसेका गौतम नेपालले नयाँ दल दर्ता गराएपछि ‘वामदेव गौतम मन्त्री बन्दै, नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको’लगायतका समाचार सार्वजनिक भएपछि उनको सचिवालयले चरित्रहत्या गर्न खोजेको आरोप लगाएको छ ।
“आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क.वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा स्वभाविक हो । तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,” सचिवालयले भनेको छ ।