कोही बाहिरिँदैमा एमाले समाप्त हुँदैन : ईश्वर पोखरेल

145

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले माधव नेपालले दल विभाजन गरेर अपराधपूर्ण काम गरेको टिप्पणी गरेका छन् ।

माधव नेपालको नेतृत्वमा बुधबार नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“हाम्रो गौरवशाली पार्टी (नेकपा एमाले) को आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ– यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ”

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद आज एमालेको एकताबद्ध अवस्थामा प्रश्न उठाउने काम भएको उनको भनाइ छ ।

एमाले पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने पोखरेलले बताए । “फुटको विगत हामी सबैले देखेका–भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,” उनले भने ।

एमाले पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पबद्ध रहेको भन्दै दृढताका साथ अघि बढिरहने पोखरेलले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...