गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेश सरकारले मन्त्रीहरुका लागि आचारसंहिता बनाएको छ । सरकारले मुख्यमन्त्रीको आलोचना गर्न नपाउने गरी आचारसंहिता बनाएको हो ।
मन्त्रिपरिषद्ले पारित गरेको ३० बुँदे आचारसंहितामा मन्त्रीले मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्न नपाउने उल्लेख गरिएको छ । त्यस्तै, कास्की बाहिर जाँदा मुख्यमन्त्रीलाई जानकारी गराएर मात्र जानुपर्ने जनाइएको छ ।
आचारसंहितामा भनिएको छ,“मन्त्रीले कास्की जिल्ला बाहिर जानु पर्दा वा विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने छ ।” सरकारले अघिल्लो मन्त्रिपरिषद्ले बनाएको ३० बुँदे आचारसंहितालाई केही संसोधन गरी पारित गरिएको हो ।
मन्त्रिपरिषद् वा मन्त्रिपरिषद्का सदस्यका बीचमा भएको वा हुने कुनै पनि विवाद सञ्चारमाध्यममार्फत अभिव्यक्त गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको ४ दलको गठबन्धनबाट गठित सरकारमा १ स्वतन्त्र सांसद्सहित ३ दल सहभागी छन् ।