काठमाडौं । नेकपा (एमाले)का सचिव भीम आचार्यले संसद् र संविधान बचाउन बनेको भनिएको शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले दल विभाजन गर्न जारी गरिएको अध्यादेश दुष्कर्म र दुर्भाग्यपूर्णको प्रतिक रहेको जिकिर गरेका छन् ।
उनले उक्त अध्यादेश तुरुन्त फिर्ता लिन देउवा नेतृत्वलाई आग्रह गरेका छन् । नेता आचार्यले लोकतन्त्र, संविधान र स्थायित्वलाई कमजोर पार्ने सबै खाले प्रतिक्रियावादीहरुको उक्साहट र सहयोगमा उक्त अध्यादेश ल्याइएको हुँदा अध्यादेश असंवैधानिक र प्रतिगामी कदम भएको औँल्याए ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन र अध्यक्ष केपी शर्मा ओलीलाई सांसद्हरुलाई गरिएको कारबाही फिर्ता लिन अपिल गरेका छन् ।
उनले देउवाको उक्त कमदले संसद्, संविधान र लोकतन्त्र नाश गर्ने प्रतिगमनको संज्ञा दिएका छन् ।
नेता आचार्यले सबै न्यायप्रेमी जनतालाई दुःखित र प्रतिक्रियावादीहरुलाई खुसी पार्ने भन्दै एमाले विभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेशको विरोध गर्न र पाटी एकताको पक्षमा दृढतापूर्वक लाग्न अपिल गरेका छन् ।