काठमाडौं । नेकपा (एमाले)का सांसद् महेश बस्नेतले अहिले देशमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको अभाव खड्किएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद् बस्नेतले वर्तमान सरकारले अघिल्लो सरकारका कामबाट केही सिक्नुपर्नेसमेत बताए । उनले अहिले पनि ‘वी मिस केपी ओली’ भनिरहेको समेत उल्लेख गरे ।
“अघिल्लो सरकारले चाइनाको वुहानबाट चाहे विद्यार्थीको उद्धार गर्ने कार्य होस् चाहे अफगानिस्तानमा सुसाइड बमबाट हत्या भएका १२ जना र २४ जनाको उद्धार गर्ने क्रममा जुन खालको भूमिका खेल्यो त्यो कुराबाट यो सरकारले सिक्नु आवश्यक छ,” बस्नेतले भने,“वर्तमान समयमा जनताले वी मिस केपी ओली भनिरहेका छन् ।”
उनले सरकारलाई जनताप्रति उत्तरदायी हुन पनि आग्रह गरे । साथै सांसद् बस्नेतले सरकारलाई तीन प्रश्न पनि गरे ।
“अफगानिस्तानमा अलपत्र परेको १५ हजार नेपालीलाई फिर्ता ल्यउने कुरामा सरकारले किन ढिला गरिरहेको छ ? अनलाइन फर्म भरेर समिति बनाएर सरकार पन्छिन मिल्छ ? जयसिंह धामी प्रकरणमा गठित १० दिने आयोग कहाँ बेपत्ता भएको छ जनताले खोजिरहेका छन्,” उनले सरकारलाई प्रश्न गरे ।