प्रतिनिधिसभा बैठक : दार्चुला घटनादेखि अनशनरत गोरखा सैनिकको जीवनरक्षासम्म

190

काठमाडौं । प्रतिनिधिसभा सांसद्ले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसद्ले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै आपत्ति जनाए ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडूले दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएको घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र परिवारलाई रोजगारी दिन तथा त्यहाँका सबै क्षेत्रमा तत्काल पुल निर्माण गरी असुरक्षित यात्राको अन्त्य गर्न माग गरे । उनले दार्चुला–तिंकर सडक यथाशीघ्र निर्माण गर्न पनि माग गरे ।

कांग्रेसका अर्का सांसद् डा.डिला संग्रौलाले गोरखा सैनिक न्याय माग्दै बेलायतमा आमरण अनशनमा बसेको जानकारी गराउँदै उनीहरुको जीवनरक्षाका लागि कूटनीतिकरुपमा पहल गर्न सरकारसँग आग्रह गरिन् ।

यस्तै, सांसद् देवेन्द्रराज कँडेलले ऐतिहासिक धरहरा उद्घाटन भयो तर चढ्न पाइन्न, मेलम्ची खानेपानी उद्घाटन भयो तर खान पाइन्न, अपर तामाकोसी उद्घाटन भयो तर बत्ती बाल्न पाइन्न, सुस्ता सुस्ता चर्चा चल्छ तर झोलुङ्गे पुलबाट हिँड्न पाइन्न, त्रिवेणीधाम बाल्मीकि आश्रम जाने झोलुङ्गे पुल शिलान्यास भयो तर ६ वर्ष हुँदा पनि पुल हेर्न पाइएन भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का सांसद् पूर्णकुमारी सुवेदीले बाढीपहिरोबाट नागरिकको जीउधन रक्षा गर्न माग गरिन् । अर्का सांसद् दुर्गाबहादुर राउतले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकासहित विभिन्न क्षेत्रमा विपदमा घरबारविहीन भएकालाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरे । जनअनुमोदित सरकारले जनताको कामलाई ढिलाइ गर्न छुट नभएको पनि उनले बताए ।

अर्का सांसद् धर्मशिला चापागाईंले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सदनमा बोल्ने क्रममा जनयुद्धका घाइतेले उपचार नपाए पार्टी कार्यालयमा पठाइदिनु भनेको कुरा कोट्याउँदै सँगै जेल बसेका साना दुर्गा अधिकारी, मानकुमार तामाङहरु कहाँ छन् भनी प्रश्न गरिन् । उनले संविधानसभाका सदस्य धर्मप्रसाद धिमिरे गम्भीर बिरामी हुँदा सरकारबाट राहत पाउन नसकेको कुरा पनि स्मरण गराइन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् दलबहादुर रानाले भूमि आयोग खारेज गरेकामा आपत्ति जनाउँदै जनतालाई जग्गा नदिने सरकारको नियत देखिएको आरोप लगाए । सोही पार्टीका अर्का सांसद् दामोदर भण्डारीले दार्चुलामा तुइन चुँडाएर बेपत्ता भएका जयसिंह धामीको सन्दर्भमा भारतसँग कुनै पनि कुटनीतिक पहल नगरेकोमा दुःख व्यक्त गरे ।

एमालेका निरुदेवी पालले पार्टी व्यक्तिभन्दा माथि देश भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नेपाली नक्सा सार्वजनिक गरेको जानकारी गराउँदै अब उक्त भूभाग लिन राष्ट्रिय सहमति जुटाउनुपर्ने आवश्यकता होइन र ? भन्दै सरकारसँग प्रश्न गरिन् ।

बैठकमा नेपाल मजदुर पार्टीका प्रेम सुवालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिनको माग गरे ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद् दिलकुमारीले कोभिडका कारण सीमा क्षेत्र बन्द भए पनि तस्करीका घटना भइरहेको तर्फ ध्यानकर्षण गराइन् । उनले सर्वसाधारण जनताले सास्ती खेपिरहेकाले प्रदेश नम्बर २ का सबै सीमा खुला गर्न आग्रह गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...