काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् ।
बिहीबार आन्तरिक राजश्व विभागको ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास संभव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
“चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस् राजश्व संकलन बढाउन सकिने उपायहरु तपाईं आफैँ फेला पार्नुहुने छ,” उनले भने, “त्यसका लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर, राजश्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नै पर्दछ ।”
उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैँले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए । “करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनु पर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के–के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्,” मन्त्री शर्माले अगाडि भने,“हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।”
उनले समग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकता समेत औंल्याए । “कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाब किताब खोई ? जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाब किताब गर्ने योजना पनि चाहियो।” उनले भने ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजश्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजश्व संकलनको निर्धारित लक्ष हेरफेर हुने संभावना रहेको बताए । राजश्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोही अनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए । आन्तरिक राजश्व विभाग अन्तर्गतका ८४ वटा कार्यालयहरु सबैले राजश्व संकलनमा देखिएका समस्याहरुको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरु समेत निकाल्न भने । प्रविधिको माध्यमबाट सबै राजश्व कार्यालयहरुलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिए ।
विसं २०५४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जिडिपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजश्व २२ प्रतिशतमा पुगको तथ्याङ्क उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न विलिङ्ग सिष्टममा एकीकृत गर्न आग्रह गरे । देशका विभिन्न ठाँउमा रहेका ८४ वटा राजश्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उनले सबै कार्यालयहरुले लक्ष्यअनुसारको काम गर्न निर्देशन दिए ।